Thursday, June 7, 2018

यसकारण गर्नुहुँदैन प्रदेश नामाकरणमा विवाद

जुन चिजको अस्तित्वसँग हामी लड्दै छौं अथवा हाम्रो गर्विलो ईतिहासमाथि कसैले बाहिरबाट निरन्तर प्रहार गरिरहन्छ, हो त्यही चिजलाई प्रदेशको नाम दिन पाए, हामी जहिल्यै पनि ‘बुद्ध वाज बोर्न इन् नेपाल’/ ‘माउन्ट एभरेस्ट लाइज इन् नेपाल’ भनेर पोतिएको होडिङ्ग बोर्ड बोकेर नारा लगाउँदै हिंड्नुपर्ने थिएन । कोही कसैले बुद्ध, सगरमाथा जस्ता हाम्रो गर्विलो इतिहासमाथि छिसिक्क घच्च लगाउने बित्तिकै हाम्रो आक्रोश यत्ति उर्लेर आउँछ, हामी होडिङ्ग बोर्ड र ह्यास्ट्यागको सहायता लिन बाध्य हुन्छौं । यसले हाम्रो दैनिक कार्यक्षमतालाई प्रभाव पार्छ । हाम्रो कार्यक्षमता घट्ने बित्तिकै हाम्रो अर्थतन्त्र कमजोर हुन्छ । अर्थतन्त्र कमजोर हुनु भनेको हाम्रो देश गरिव हुनु हो । हामी जहिल्यै गरिबाबाट ग्रसित हुने ?

हाम्रो देश सानो छ । हामी यो सुन्दर देशलाई मुटुको टुक्रा जति नै माया गर्छौं । हाम्रो अस्तित्व रहन सर्वप्रथम हाम्रो भूमि र हाम्रो अटल पहिचानमाथि कसैले आँखा गाढ्ने दुस्साहस गर्न सक्नुहुँदैन । सगरमाथा र गौतम बुद्धको बिषयमा क्रमश: चिन र भारतका पाठ्यक्रममा गलत अर्थ लगाएर पढाउँदै आईएको छ । भारतको सहयोगमा खुलेका हाम्रै देशका केही विद्यालयमा गौतम बुद्धको बारेमा गलत अर्थ लगाईएको छ । भनिन्छ, ‘झुटो कुरालाई धेरै पटक दोहोर्या।इयो भने सत्य हुन्छ ।’ उनीहरु गलत इतिहासमाथि गर्व गर्ने भईसकेका हुनेछन् । इतिहास नै गलत पढेका छिमेकका बालबालिका भविष्यमा हाम्रो गर्विलो पहिचानमाथि ठूलो बाधक बन्न सक्छन् । छिमेकको नीति ‘एकपट्टिबाट जिस्क्याएर अर्कै पट्टिबाट पिट्ने’ भनेझैं हामी यता एउटा कुरामा बिरोध गर्न समय खर्च गरिरहेका हुन्छौँ, उता उसले अर्कैतिर हामीलाई हत्याउने पनि हुनसक्छ ।
त्यसैले प्रदेशको नाममा विवाद नगरौं । जाति अथवा भाषाबाट राख्न कोही कसैले जबर्जस्त नगरौं । अरुको जस्तै गर्नुपर्छ भन्ने छैन । जाति, भाषा पनि पहिचान हुन् तिनीहरुको संरक्षण नगर्ने भन्न खोजेको होइन । हाम्रो देशको अवस्थाअनुसार हामीलाई सुरुवातमा सम्पदा, भूगोल, इतिहास प्रधान हुनुपर्ने बनायो । बरु हामी गाउँपालिका, नगरपालिकाको नामाकरणमा त्यता ध्यान दिउँ । जब हाम्रो प्रदेशको नाम नै सगरमाथा, गौतम बुद्ध, मिथिला हुन्छ, कोही कसैले हाम्रो धरोहरमा आँखा गाढ्न सक्दैन, धावा बोल्न सक्दैन । हाम्रो पहिचानलाई न्याय गर्ने बेला यही हो, यो मौका फेरि पछि आउँदैन । त्यसैले, यस्ता कुराहरुलाई मध्यनजर गरियो भने, हामी भविष्यमा कोही कसैले कुनै सञ्चार माध्यममा गौतम बुद्ध, सगरमाथाजस्ता धरोहरको बारेमा गलत अर्थ लगाउँदैमा जुलुस गरिराख्नु पर्दैन । बस्, हामी आफ्नै काममा तल्लिन भईराखे पुग्छ ।
हामी जबसम्म सानोतिनो कुरामा पुरै बल लगाएर भाँडिन्छौँ तबसम्म हामी कमजोर नै भईराखेकै हुनेछौं । त्यसैले, प्रदेश १, २ र ५ को प्रदेश नामहरु क्रमश: सगरमाथा, मिथिला र गौतम बुद्ध प्रदेश सान्दर्भिक हुन्छ ।
प्रदेश ३ को हकमा कुनै त्यस्ता महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक महत्वका कुराहरु छन् भने छलफल गर्न सकिन्छ । जहाँसम्म ‘नेपालमण्डल’ भन्ने कुरा चर्चामा आएको छ, यसलाई हाम्रो देशको नामले नै प्रतिनिधित्व गर्छ । त्यसैले एउटै महत्व बोकेको कुरालाई दोहोर्याईइरहन उपयुक्त हुँदैन । बरु ‘नेपाल मण्डल’ भन्दा ‘बाग्मती’ एउटा उपयुक्त नाम हुन सक्छ । बाग्मती एउटा नदी मात्र नभएर प्राचीन मानव सभ्यताको थलो पनि हो ।
त्यसरी नै ‘गोर्खा’ अर्को हाम्रो गर्विलो इतिहास हो । खासमा गोर्खा नेपाल राज्यकै एउटा उद्गमस्थल अथवा सुरुवात हो । यहाँ त क्रान्ति गर्नेले क्रान्तिको मर्म नै बुझेनन् र मात्र हो नत्र पृथ्वीनारायण शाहका शालिकहरुले क्रान्तिका नाममा ढुङ्गाका झट्टारो खानुपर्ने थिएन । हाम्रो ऋषिमुनिको भूमिमा संस्कृतका किताब रातारात पोलिनुपर्ने थिएन । इतिहास हामी कसैको दुश्मन होइन केवल यो त हामी सबैको सम्पति हो ।
विदेशीले अब गोर्खा भन्ने बित्तिकै दार्जिलिंग सम्झन्छन्, किनकि उनीहरुले गोर्खाल्याण्डको नाममा लामो समयदेखि संघर्ष गरेका छन् । हामीले ऐतिहासिक गोर्खाको संरक्षणको लागि अहिलेसम्म केही गरेका छैनौं । आफैमा गर्विलो इतिहास भएर गोर्खा अहिलेसम्म जीवित छ । हामीले अब पनि गोर्खाको संरक्षणमा ध्यान पुर्याफएनौं भने यो इतिहास एकदिन मेटिनेछ । जुन, हामी सबै नेपालीको लागि दुःखको कुरा हो । त्यसैले, प्रदेश ४ को सन्दर्भमा म चाहिं गण्डकी भन्दा गोर्खा महत्वपूर्ण देख्छु ।
प्रदेश नं ६ को बिषयमा कुरा गर्ने हो भने कर्णाली उपयुक्त नाम हुन आउँछ । यो नाम प्रदेश ६ बाट सर्वसम्मतरुपमा पारित भइ सकेको छ । कर्णाली एउटा नदी हो र कर्णाली मानव सभ्यताको ऐतिहासिक थलो पनि हो । कर्णालीको बिषयमा त्यति विवाद छैन र गर्नुपर्ने आवश्यकता पनि छैन ।
त्यसरि नै प्रदेश नं ७ को हकमा महाकाली नै उपयुक्त हुन्छ । महाकाली हाम्रो पश्चिमी सिमाना पनि हो । अन्य नामहरु पनि बहसमा आएका छन् यद्यपि छलफलबाट निचोड निकाल्न सकिन्छ ।

अन्तमा, हामी अहिले महत्वपूर्ण इतिहास लेख्ने चरणमा छौं । यतिबेला हामी सबै एकदम सचेत र दुरदर्शी भएर निर्णय लिनुपर्ने हुन्छ । हामी यसरी प्रदेश नामाकरणको लागि तयार होऔं कि हाम्रो सम्पदाहरु हाम्रै हो भनेर नाराजुलुस गर्नु नपरोस्, सम्पदाको संरक्षण पनि होस् र हाम्रो इतिहास पनि नमेटिओस् ।
(माघ १०, २०७५ मा साझा पोस्टमा प्रकाशित)