Wednesday, October 5, 2016

करोडौं कस्तुरी - समिक्षा

ढिलै भयपनि अमर न्यौपानेको "करोडौं कस्तुरी" पढ्ने अवसर मिल्यो ।पढिसक्दा त लाग्यो म पनि आफ्नै जीवनको कस्तुरीको बास्ना नभेटेर भौतारिरहेको वाहियात हरिवंशहरु मध्य एक हुँ ।सानोमा हाम्रो जीवन कस्ले "ठुलो ठिक" पाउने भन्ने प्रतिस्पर्धामै बित्यो सायद ।जब अलि ठुलो भयौं, समाजले तँ डक्टर, तँ इन्जीनियर, तँ पाइलट भनेर एउटा जबर्जस्त उपनाम नै थपिदिसकेको हुन्छ। हामी अरुलाई अरु कसैले नै लगाइदियको चस्माले हेर्ने गर्छौ। हामी निर्जीव सर्टिफिकेटहरुको सन्तान जन्माउन मात्र उद्दत छौं। हामीहरु धेरैजसो डक्टर/इन्जिनियर पनि परिवार र समाजको सन्तुस्टिको लागि पढ्छौं । केही कस्तुरी ,जसले आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई ब्यबहारमा ल्याए ,उनीहरुकै सोच र सिर्जना ,बिचार र आविष्कारले नै सम्पूर्ण मानिसलाई चलाईरहेछ। लेखकले हाम्रो शिक्षा प्रणालीलाई पानी नआउने इनारसंग तुलना गरेका छन्। मानौं कुनै जमीनमा तीस फिट खनेपछि मात्र पानी निस्कन्छ र इनार बन्छ। हाम्रो शिक्षाले बढिमा बीसपच्चिस फिट खन्छ र बाहिरबाट शिक्षाको पानी हालेर तेसैलाई इनार भन्छ। त्यो इनार होइन, खाडल मात्र हो। त्यसले पानी दिंदैन, सोस्छ मात्र। पानी सोस्न नदिनलाई प्लास्टर समेत गरिन्छ जहाँ बाहिर बाट हालेको शिक्षाको पानी जमेर बस्छ। त्यो कृत्रिम इनारले भ्यागुता र सर्प पनि पाल्न थाल्छ। थप दशपन्ध्र फिट खन्न सके त अविरल स्वच्छ पानी दिने प्राकृतिक इनार प्रत्येक बिद्यार्थीभित्र पहिल्यैदेखि तयारि अबस्थामा छ। कसैले बाहिरबाट पानी हाल्नै पर्दैन।हाम्रो शिक्षाप्रणालीले कल्पनाशील बन्न खोज्ने विद्यार्थीलाई बस्तु बनाउन खोज्छ। बिद्यार्थीहरु सिर्जनशील बन्न खोज्छन्, शिक्षा क्यासेट बनाउन खोज्छ। बिद्यार्थीहरु बैज्ञानिक बन्न खोज्छन् ,शिक्षा मिस्त्री बनाउन खोज्छ ।अहिलेको शिक्षाले बिद्यार्थीलाइ आधुनिक बजारको मोनालिसाको पोस्टर बनायको छ र बजारमा सस्तोमा बिक्रि हुने बस्तु बनायको छ ।...यस्तै यस्तै परम्परागत शिक्षा प्रणालीसंग कटाक्ष गरियको छ ।आफ्नो जीवनको कस्तुरी नभेटेकाहरु र भेट्न सङ्घर्षरत सबैले पढ्नैपर्ने उपन्यास भन्छु म।